भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस
माघ १६, २०७२- चुनावका बेलाबाहेक गाउँ नजाने अनि कार्यकर्ता र समर्थकबाट टाढिने गरेको आरोप खेप्ने कांग्रेसका नेता तथा सांसदहरू अधिवेशनको मौकामा गाउँ–गाउँ पुगेका छन् । उनीहरूको उपस्थितिले कार्यकर्तामा उत्साह थपिएको छ । स्थानीय अधिवेशन अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा भएको छ ।
झापाकी सांसद उषा गुरुङ दुई सातादेखि कांग्रेस कार्यकर्तासँग निरन्तर सम्पर्कमा छिन् । गृहनगर आएका बेला एक–दुई दिन मात्रै बिताउने गुरुङको बसाइ अहिले लम्बिनुको कारण पार्टीको वडा, गाउँ र नगर अधिवेशनको चटारो हो । उनी मात्रै होइन, झापाका ७ सांसद यतिबेला वडा, गाउँ र नगर अधिवेशनका कारण गाउँ–गाउँमा छन् । नरेन्द्रविक्रम नेम्वाङ र उषा गुरुङ क्षेत्र १ मा सक्रिय छन् । २ मा सुधीर शिवाकोटी र अमृतलाल राजवंशी, ४ मा सरिता प्रसाइँ, ५ मा केशवकुमार बुढाथोकी र ७ मा महिन्द्रा सुब्बा कार्यकर्तामाझ छन् ।
युवा नेता विश्वप्रकाश शर्माको अगुवाइमा सर्वसम्मत नेतृत्व चयन भइरहेको छ । नेताहरूको सक्रिय उपस्थितिले कार्यकर्तापंक्ति पनि कम उत्साहित छैनन् । परिणामत: नगर समितिमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । मेचीनगरका १३ वटै वडामा सर्वसम्मतिको प्रयास भइरहेको छ । ‘नेताहरूको सक्रियताले कांग्रेसजनमा उत्साहको सीमा छैन,’ नगर सभापति इन्द्र बुढाथोकीले भने, ‘आत्मविश्वास बढेको छ ।’
शर्माले मेची नगरमा देशका अन्य जिल्लामा भन्दा भिन्न वातावरण बनेको बताए । ‘नगर र वडाका करिब ८५ प्रतिशत प्रतिनिधि निर्विरोध भइसके,’ उनले भने, ‘क्षेत्र र जिल्ला नेतृत्वमा समेत निर्विरोध गराउने योजना छ ।’
क्षेत्र ५ का सांसद केशवकुमार बुढाथोकी पनि सबै गाउँमा निर्विरोध नेतृत्वका लागि लागेका छन् । उनका अनुसार कुमरखोदमा निर्विरोध समिति छानिएको छ । ‘झापामा पार्टी एकताबद्ध छ,’ सांसद तथा केन्द्रीय सदस्य नेम्वाङले दाबी गरे, ‘झापामा अब गुटगत राजनीति छैन भने फरक पर्दैन ।’
सिन्धुलीका अधिकांश स्थानमा सहमतिबाट प्रतिनिधि चयन भएको पार्टीले जनाएको छ । २ नगरपालिका र ५० गाविसबाट ६ सय ८८ जना प्रतिनिधि चुनिने कांग्रेस सचिव उपेन्द्र पोखरेलले जनाए ।
‘चुनावकै लागि मात्र नेताहरू आउँदा कतिपय कार्यकर्ताले आक्रोश पनि व्यक्त गरेका छन्,’ दुधौलीका कार्यकर्ता भूमि कुँवरले भने ।
मोरङका गाउँमा बल्ल नेता पसेका छन् । जिल्लाका ५० गाविस र एक नगर समितिबाट ६ सय ५४ जना क्षेत्रीय प्रतिनिधि चुनिएका छन् । ६ नगर र विराटनगर उपमहानगरपालिकामा शनिबार अधिवेशन हुँदै छ । ‘दोस्रो संविधान सभापछि मोरङको ग्रामीण क्षेत्रमा कांग्रेसको चहलपहलै हुन सकेको थिएन,’ महासमिति सदस्य सुमन कुँवरले भने, ‘गाउँ र नगर सम्मेलनले ३ वर्षपछि सबै कांग्रेसीलाई गाउँ पसायो ।’
धरानमा झडप
धरान समिति निर्वाचनमा दुई समूहबीच झडप भएको छ । झडप रोक्न खोज्दा दुई प्रहरी घाइते भएका छन् । सभापतिमा देउवा पक्षका किशोर राई र संस्थापन पक्षका तिलक राई दुई प्यानल बनाएर मैदानमा उत्रिएका थिए । विवादकै क्रममा हतियार प्रदर्शन हुन थालेपछि नियन्त्रण गर्न खोज्दा सुरक्षाकर्मीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनायो । खोटाङको टेम्मा गाउँ अधिवेशनमा पनि आक्रमण भएको छ । दोस्रो संविधानसभाको बागी उम्मेदवार विष्णुराज राईलगायतले टेम्मा ३ स्थित मतदान केन्द्रमा स्थानीय कांग्रेस नेता/कार्यकर्ताहरूमाथि आक्रमण भएको हो ।
उता धनुषामा अधिवेशन तीन दिन सारिएको छ । निर्वाचन अधिकृत पर्श‘राम कोइरालाले ‘काबु बाहिरको परिस्थिति’ भन्दै मिति सारेको सूचना जारी गरेका थिए । ‘लोडसेडिङले गर्दा मतदाता सूचीको फोटोकपी हुन सकेन । मतदाता अधिकृतहरू समयमा सम्बन्धित केन्द्रमा पुग्न सकेनन् । अनि तालिकामा सामान्य हेरफेर गर्नुपर्यो,’ उनले भने । मधेसी मोर्चा, संघीय समावेशी मधेसी गठबन्धनलगायतले भने आफूहरूको अवरोधको कारण अधिवेशन गराउन नसकेको दाबी गरेका छन् ।
कांग्रेस अधिवेशन बिथोल्न मधेसी मोर्चाले कार्यकर्ता परिचालन गरेको छ । उनीहरूले विभिन्न गाउँमा कांग्रेसका भेला बिथोलेका थिए । प्रस्टोकी, ठेरा, पतनुकालगायत केही स्थानमा मोर्चाका कार्यकर्ताले कांग्रेसको निर्णय पुस्तिकासमेत खोसेका थिए ।
त्यस्तै सिरहामा अविधेशन आइतबारबाट हुने भएको छ । जिल्ला समितिको बिहीबारको बैठकमा गाउँ, नगर र वडाको १७ गते र नगर समितिको अधिवेशन १८ गते गर्ने निर्णय भएको कांग्रेस सचिव नरेश यादवले बताए । महोत्तरीका दुई स्थानमा मधेसी मोर्चाका कार्यकर्ताले अधिवेशनमा अवरोध गरेका छन् । गौशाला नगरपालिका ६ रजखोरमा पुगेका उनीहरूले कुर्सी तोडफोड गरेका थिए । उम्मेदवारलाई दिने प्रमाणपत्र पनि च्यातेका थिए । अवरोधकै कारण इकरहिया गाविसको अधिवेशन बिथोलिएको छ । कांग्रेस अध्यक्ष महेन्द्रकुमार रायका अनुसार २५ र ३० वटा मोटरसाइकलमा आएको समूहले अवरोध गरेपछि अधिवेशन बिथोलिएको छ । शनिबार ती स्थानमा अधिवेशन हुने उनले बताए ।
उता संखुवासभाका २५ गाविस र ३ नगरपालिकाबाट ४ सय ९५ क्षेत्रीय प्रतिनिधि छनोट गरिएको छ । तीमध्ये केहीमा सर्वसम्मत छानिए । सुनसरीका १७ गाविसमा सभापतिहरू निर्विरोध छानिएका छन् । सिमरिया गाविसमा दुई सभापतिका उम्मेदवारबीच विवाद हुँदा निर्वाचन स्थगित भएको छ । तेह्रथुममा अधिकांशमा सर्वसम्मत आएका छन् ।
अवरोध गर्ने ९ पक्राउ
मधेसी मोर्चाको अवरोधले सप्तरीका केही स्थानमा अधिवेशन हुन सकेन । मोर्चा कार्यकर्ताले अधिवेशन बिथोल्न नाराबाजी गरेका थिए । ९१ गाविस र ५ नगरपालिकाका सबै वडामा अधिवेशनका लागि स्थान तोकिएको थियो । अधिकांश स्थानमा मोर्चा कार्यकर्ताले अवरोध गरेपछि निर्वाचन अधिकृतहरूले ‘असहज परिस्थिति’ भन्दै सूचना टाँस गर्दै अधिवेशन स्थगित गरेका थिए ।
कल्याणपुरस्थित एक विद्यालयमा अधिवेशन बिथोल्न पुगेका मोर्चा कार्यकर्ता र सुरक्षाकर्मीबीच घम्साघम्सी भएको थियो । बिथोल्न पुगेका मोर्चाका ९ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । यसैबीच, विषहरिया गाविसको गाउँ अधिवेशन राजविराजस्थित एक निजी घरमा गरिएको थियो । गाउँमा अवरोधले गर्दा सदरमुकाममा अधिवेशन गरेको कांग्रेसका नेताले बताए । सप्तरी कांग्रेस सभापति दिनेशकुमार यादवले मोर्चाको अवरोध भए पनि अधिकांश गाउँ नगरका वडामा अधिवेशन शान्तिपूर्ण सम्पन्न भएको जनाए । उनका अनुसार बाँकी गाविसको अधिवेशन पनि चाँडै गरिनेछ ।
तीव्र गुटबन्दी
मध्यपश्चिमका जिल्लामा कोइराला, देउवा र अर्का नेता खुमबहादुर खड्काका गुट देखिएका छन् । कोइरालाकै जिल्ला बाँकेमा उनको पक्ष छाडेर देउवातिर केही नेता खुलेर लागे । अधिवेशनमा सहभागी हुन कांग्रेस नेता कार्यकर्ताहरू नारा जुलुस र बाजागाजासहित सहभागी भए । सदरमुकाम आसपास मात्र नभई टाढाका गाविसमा पनि अधिवेशनले चहपहल बढाएको छ । ‘स्थानीय चुनाव भएझैं भयो । मलाई त्यसैमा खुसी लाग्यो,’ श्रीनगर गाविस ४ का ९१ वर्षीय कालीबहादुर मल्लले भने । हुम्लाको लिमीमा हिमपातपछि बाटो अवरुद्ध भएकाले अधिवेशन हुन सकेन । बर्दियाको गुलरिया ७ मा निर्वाचन स्थगित भयो । अन्यत्र शान्तिपूर्ण रूपमा सम्पन्न भएको कांग्रेसले जनाएको छ । दैलेखमा अधिकांश सर्वसम्मत छानिए । प्यूठानमा शान्तिपूर्ण रूपमा भएको छ ।
सभापतिका प्रत्यासी गाउँमै हारे
रोल्पामा जिल्ला सभापतिका प्रवल दाबेदार मानिएका जितविक्रम मल्ल इलाका प्रतिनिधिमै पराजित भएका छन् । जुम्लामा प्राय: सहमतिमा छानिएका छन् । कालीकोटका ३० वटै गाविसमा शुक्रबार सुरु भए पनि अधिकांश गाविसमा बन्दसत्र शनिबारका लागि सारिएको छ । यहाँका ३० मध्ये २१ गाविसमा उम्मेदवारी दर्ता भए पनि निर्वाचन हुन नसकेको कांग्रेसले जनाएको छ ।
नेतालाई राहत
१३ औं महाधिवेशनका लागि प्रतिनिधि छनोटमा सांसद र सांसदका उम्मेदवार स्वत: प्रतिनिधि हुने व्यवस्थाले गाउँमा आधार नबनाई सहरमा बस्ने नेताहरूलाई राहत मिलेको छ । गाउँ अधिवेशन भए पनि जिल्लाका प्रमुख नेतृत्व भने विधानले दिएको अधिकार प्रयोग गर्दै स्वत: प्रतिनिधि भएका छन् ।
सुर्खेतमा सांसद एवं पूर्वसहमहामन्त्री पूर्णबहादुर खडका, सांसद हृदयराम थानी, सांसद एवं जिल्ला सभापति तप्तबहादुर विष्ट, सांसद खडकबहादुर बस्याल, सांसद लालबहादुर घले, बन्दसूचीमा परेका पूर्वमन्त्री शिवराज जोशीलगायत नेताले विधानले दिएको सुविधा प्रयोग गरेका छन् ।
कास्कीमा धेरै सर्वसम्मत
पोखरा १, १४, र २२ वडा र लेखनाथ नगरका ५० प्रतिशत वडामा सर्वसम्मत छानिएका छन् । ‘प्रारम्भिक सूचनाअनुसार धेरै पदमा सर्वसम्मत भएको छ,’ कास्की कांग्रेस सभापति तथा सांसद यज्ञबहादुर थापाले भने, ‘सहमतिको प्रयास गर्दा निर्वाचन प्रक्रिया ढिलो भएकाले सबै विवरण शनिबार प्राप्त हुनेछ ।’
बागलुङमा अधिकांश गाविस र नगर वडामा पनि निर्विरोध सभापति र प्रतिनिधि चयन भएका छन् । अन्यत्र संस्थापन र देउवा पक्षको समान उपस्थिति देखिएको छ । स्याङ्जामा ९० प्रतिशत सहमति र बाँकीमा निर्वाचन हुने अवस्था रहेको पार्टीले जनाएको छ । गुल्मीमा अधिकांश गाउँमा उम्मेदवारका आकांक्षी बढी भएपछि शुक्रबार सबै गाविसमा अधिवेशन हुन सकेन । अधिकांश गाविसले अधिवेशनको खुलासत्र सम्पन्न गर्दै बन्दसत्र र नेतृत्व चयनका तयारी थालेका छन् । झन्डै ३० प्रतिशत गाविसले भने सर्वसम्मत गराइसकेका छन् । लमजुङमा केही गाविस र नगरपालिकाका केही वडाबाहेक धेरै ठाउँमा सहमति भएको छ । तनहुँमा पौडेल र गोविन्दराज जोशी पक्षधरबीच प्रतिस्पर्धा देखिएको छ । पाल्पामा ६० गाविसमा निर्वाचन शान्तिपूर्ण रूपमा सकिएको छ ।
मनाङको अधिवेशन काठमाडौंमा
मनाङको गाउँ अधिवेशन काठमाडौंमा भएको छ । ‘महाधिवेशन हिउँदमा पर्यो । सबै काठमाडौंमा छन् । त्यसैले उतै गर्नुपर्यो,’ कार्यवाहक सभापति राज घलेले भने, ‘बिहानसम्म के गर्ने, के नगर्ने अवस्थामा थियौं । सबैलाई जुटाएर जिल्ला सम्पर्क कार्यालयमा छनोट गर्यौं ।’
कागजी अधिवेशन
बारामा चुरेआसपासमा अधिवेशन भएको छ । सीमावर्ती र सदरमुकाम आसपासका गाउँमा भने हुन सकेन । जिल्ला सभापति तथा सांसद राधेचन्द यादवलगायत अन्य सांसद राजधानीबाट आएका छन् । केही स्थानमा कागजी अधिवेशन भएको पार्टीका नेता/कार्यकर्ता बताउँछन् ।
मध्य क्षेत्रका अधिकांश जिल्लामा निर्धारित गाउँ, नगर र वडाको निर्वाचन भएका छन् । केही जिल्लामा पार्टीकै तयारी नपुगेका कारण स्थगित गरिएको छ । पर्सामा शुक्रबार हुन सकेन । केन्द्रीय पर्यवेक्षक निरञ्जन आचार्यले शुक्रबार साँझसम्म जिल्ला कार्यसमितिको बैठक बस्ने र त्यसपछि अधिवेशनको बाटो खुल्ने बताए । पर्सामा ५ हजार क्रियाशील सदस्य छन् । सर्लाहीको क्षेत्र नम्बर ६ का सबै गाउँ अधिवेशन ४ दिन सारिएको छ । निर्वाचन अधिकृत अच्यूतम आचार्यले केन्द्रीय समितिले चुनाव सार्ने निर्णयसहितको पत्र पठाएकाले रोकिएको बताए ।
रौतहटमा कोइराला र देउवा पक्षधरको गुटबन्दीबीच क्रियाशील सदस्य विवाद कायमा रहे पनि जिल्लाभर मतदान भएको छ । पार्टी सदस्य नभएका व्यक्ति, फोरम लोकतान्त्रिकका मन्त्री र मृत्यु भएका समेत क्रियाशील सदस्यको नामावलीमा परेपछि विवाद चुलिएको थियो ।
मकवानपुरमा अधिकांश वडा, गाउँ र नगरमा निर्वाचन भएको छ । चितवनमा धेरै स्थानमा सर्वसम्मत चुनिएका छन् । जिल्ला सभापति टेकप्रसाद गुरुङका अनुसार अहिलेसम्म ६० प्रतिशतमा सर्वसम्मत भएका हुन् । ‘पहिलाभन्दा अहिले सर्वसम्मत हुने क्रम बढेको छ,’ उनले भने, ‘त्यो क्रम सहरमा भन्दा गाउँ क्षेत्रमा बढी छ ।’
कपिलवस्तुमा ७५ प्रतिशतभन्दा बढी निर्विरोध चयन भएको जिल्ला सभापति सुरेन्द्रराज आचार्यले बताए । रूपन्देहीमा करिब १२ हजार क्रियाशील सदस्यले गाउँ, नगरबाट मतदान गरेका छन् । सबै केन्द्रमा उत्साहपूर्वक निर्वाचन भएको छ । अन्य समय गुट/उपगुट देखिएको जिल्लामा यसपटक भने त्यसको कम मात्र प्रभाव देखिएको जिल्ला सचिव हीरा केसीले बताए ।
नयाँ पुस्ता अगाडि
सुदूरपश्चिमका ९ वटै जिल्लामा निर्वाचन शान्तिपूर्वक सम्पन्न भएका हुन् । पहाडी जिल्ला बझाङ, बाजुरा, डोटी, अछाम, दार्चुला, डडेलधुरा र बैतडीका अधिकांश गाविसका प्रतिनिधि निर्विरोध चयन भएका छन् ।
नेता हीरादत्त भट्ट यसपटकको निर्वाचनमा डडेलधुराबाट सहभागी छैनन् । अर्का पुराना कांग्रेस नेता पदम विष्ट पनि निर्वाचनमा डडेलधुरा पुगेनन् । शेरबहादुर देउवापछिका नेताका रूपमा चर्चा पाएका रामचन्द्र चटौतले पार्टी नै छाडिसके । पुराना नेताहरूको ठाउँ नयाँ पुस्ताले लिन थालेका छन् । कांग्रेस नेता रमेश लेखक यसलाई स्वभाविक प्रक्रिया ठान्छन् । ‘५ वर्षपछि हुने पार्टी निर्वाचनमा नयाँ पुस्ता देखापर्नु स्वभाविकै हो,’ उनले भने । डडेलधुरामा पार्टीभित्र संस्थापनको नाम मात्रको उपस्थिति देखिन्छ । डोटीमा पनि अधिकांश क्षेत्रमा नयाँ अनुहार देखिएका छन् । पुराना कांग्रेस नेता नारायण जोशी भन्छन्, ‘अबको राजनीति धन र बलको छ । आदर्श र विचारको राजनीति समाप्त जस्तै छ ।’
अछाममा पनि केही पुराना नेता पार्टी निर्वाचनबाट पलायनजस्तै भएका छन् । टेकबहादुर स्वाँर, धर्मराज न्यौपानेसहित दर्जनभन्दा बढी नेता देखिएका छैनन् । कांग्रेसका पुराना नेता मेघबहादुर खडका भन्छन्, ‘यसपटकको धेरै गाविसमा निर्विरोध भएको छ ।’ बझाङका पनि धेरै ठाउँमा निर्विरोध निर्वाचन सम्पन्न भएको छ । बैतडीमा दशरथचन्द नगरपालिका दुई वडाबाहेक सबैमा निर्विरोध प्रतिनिधि चयन भएका छन् । पाटन नगरपालिका केही वडामा निर्वाचन हुने अवस्था रहेको स्थानीयले बताए ।
एकैपक्षीय प्रतिस्पर्धा
कैलालीमा देउवा समूहमै विभाजन आएको छ । पार्टी सभापति नरनारायण शाह र सांसद पुष्करनाथ ओझाको समूह बेग्लाबेग्लै प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा देखापरेका हुन् ।कञ्चनपुरमा जिल्ला सभापतिका सशक्त उम्मेदवार मानिएका हरि बोहोरा वडामै पराजित भए । कञ्चनपुरमा देउवा पक्षबाट बोहोरा, पदम बोगटी र बलदेव बोहोरालाई सभापतिको सम्भावित उम्मेदवारका रूपमा हेरिएको थियो । संस्थापन पक्षबाट गोपाल भण्डारी, भोजराज बोहरा र गोपाल गुरुङ सभापतिका उम्मेदवारका रूपमा चर्चामा छन् । कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूको गृहजिल्ला दार्चुलामा भने संस्थापन पक्षको बर्चस्व छ । त्यहाँका अधिकांश गाविसका प्रतिनिधि निर्विरोध चयन भएका छन् ।
Post a Comment