भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस
![]() |
कांग्रेसका तर्फबाट नेता पौडेलले राखेको प्रस्तावमा राजनीतिक सहमति भने हुन सकेन । माओवादीले सकारात्मक रुपमा लिएपनि सरकारको नेतृत्व लिएको एमालेले उक्त विकल्पलाई समेत स्वीकार्न नसकेको कांग्रेस नेता पौडेलले बताए । तर एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने पौडेलको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक रहेको दाबी गरे ।
पौडेलले प्रधानमन्त्रीको राजीनामा, अविश्वासको प्रस्ताव फिर्ता, बजेटसँग आश्रित विधेयक पारित गर्ने र प्रधानमन्त्रीको निर्वाचन प्रकृया अघि बढाउने विषयलाई एउटै प्याकेजमा हल गर्नेगरी तीन दलको बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए । एमालेले प्रधानमन्त्रीको निर्वाचन प्रकृयालाई संविधान संशोधन गर्नुपर्ने सर्त राखेका कारण सहमति हुन नसकेको कांग्रेस नेता पौडेलको भनाई छ । ‘प्याकेजमै सहमति भएमा सरकार निर्माणमा समेत अधिकतम सहमति जुटाउन सकिने र संविधान कार्यन्वयनमा समेत सहज हुने भएकाले यस्तो प्रस्ताव मैले राखेको हुँ,’ पौडेलले भने, ‘राजीनामा दिने विषयमा प्रधानमन्त्रीले मेरो साथीहरुसँग सल्लाह गर्नुपर्छ भन्नुभएको छ ।’
प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव पहिला फिर्ता लिनुपर्ने सर्त राखेका कारण सहमति जुट्न नसकेको बताए । ‘अविश्वासको प्रस्ताव फिर्ता लिनुहोस् अरु बिषयमा छलफल गर्दै अघि बढ्न सकिन्छ भन्ने जवाफ प्रधानमन्त्रीको आयो,’ पौडेलले भने, ‘आज सहमति हुन नसकेपछि भोलि २ बजेसम्म थप छलफल गरेर अघि बढ्छौं ।’
एमालेले बजेटसँग सम्वन्धित विधेयकलाई र प्रमुख प्रतिपक्षले अविश्वासको प्रस्तावलाई पहिलो सूचीमा राख्नुपर्ने अडान नछाडेपछि पौडेलले उक्त प्रस्ताव ल्याएका हुन । प्रधानमन्त्री केपी ओलीले उक्त प्रस्तावका बारेमा प्रतिक्रिया दिन मानेनन् । ‘राजीनामा दिने र अविश्वासको प्रस्ताव फिर्ता लिने सहमति भएको छैन,’ संवाददाताहरुसँगको संक्षिप्त प्रतिक्रियामा उनले यतिमात्रै भने ।
एमाले संसदीय दलका उपनेता नेम्वाङले पौडेलको प्रस्तावबारे एमालेले आन्तरिक छलफल अगाडि बढाउने बताए । ‘रामचन्द्रजीको प्रस्तावमा प्रधानमन्त्री नकारात्मक हुनुहुन्न,’ उनले भने, ‘छलफलमै छौं ।’
नेम्वाङले दलहरुबीच राष्ट्रिय सहमतिका लागि प्याकेजमै छलफल गर्ने वा एउटै कार्यसूची बनाउने भन्ने विषयमा छलफल भएको बताए ।
माओवादी महासचिव कृष्णबहादुर महराले अविश्वासको प्रस्ताव, प्रधानमन्त्रीको राजीनामा, आर्थिक विधेयक र नयाँ सरकारको टुंगो प्याकेजमै गर्ने विषयले प्रवेश पाएको बताए । ‘रामचन्द्रजीले प्रस्ताव राख्नुभएको छ,’ उनले भने, ‘छलफल सुरु भएको छैन ।’
कांग्रेस नेताहरुले भने एमालेको असहष्णु व्यवहारका कारण सहमति जुट्न नसकेको बताए । कांग्रेस नेता रमेश लेखक र प्रकाशशरण महतले आफूहरुले लचिलो प्रस्ताव राख्दा पनि प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली सहमतिमा आउन तयार नभएको बताए । ‘यसले बहुमत गुमाइसकेपछि पनि सत्तामा बसिराख्ने नियत ओलीमा देखियो,’ लेखकले भने, ‘यो विकल्पमा पनि सहमति नजाउनु भनेको प्रधानमन्त्री ओली बहाना देखाएर पदमा बसिराख्ने नियत हो ।’
महतले शुक्रबार १२ बजेसम्म सहमति नभएमा प्रकृयामा प्रवेश गर्ने बताए । प्रकृयामा जाँदा अश्विासको प्रस्तावलाई पहिलो कार्यसूचिमा राख्नुपर्ने अडान कांग्रेस र माओवादीको रहेको उनले बताए । एमालेले बैकल्पिक प्रस्तावमा सहमति नजनाए संसद्को प्रकृया अघि बढाउन कांग्रेस र माओवादीले बजेटसँग आश्रित विधेयकलाई असफल बनाएर अविश्वासको प्रस्तावमा प्रवेश गर्ने रणनीति बनाएका छन् । ‘अहिले सम्म हाम्रो अडान अविश्वासको प्रस्तावलाई पहिलो सूचीमा राखेर जानुपर्छ भन्ने हो,’ विधेयक असफल बनाउने रणनीतिबाट सोधिएको प्रश्नमा महतले भने, ‘त्यसबारेमा आज छलफल भएको छैन ।’
प्रकाशित: श्रावण ६, २०७३
Unlock the Box Below
![]() |
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.