भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस

  कक्षा ३, विद्यार्थी दुई, एस्ता छन सरकारी स्कूल 


बागलुङको धम्जा–३ स्थित लक्ष्मी उच्च माध्यमिक विद्यालयको कक्षा ३ मा मात्र दुई विद्यार्थी छन् । प्राथमिक तहमा ओरालो लागेको विद्यार्थी सङ्ख्या घटेर अहिले १८ मा सीमित छ। तीन वर्षअघि प्रावि तहमा १०५ विद्यार्थी थिए। कक्षा ३ मा आशिका आले र पुनम भण्डारीले पढ्छन्।

कक्षा ३ मा मात्रै नभएर प्राविस्तरका अन्य कक्षामा पनि विद्यार्थीको खडेरी छ। कक्षा ५ मा चार, कक्षा २ मा चार, कक्षा १ मा चार र कक्षा ४ मा चार जना अध्ययनरत छन् । विद्यार्थी सङ्ख्या घट्दा गुणस्तर बढ्नुपर्नेमा त्यो झन निराशाजनक स्थितिमा छ। जीर्ण भवन, अव्यवस्थित कक्षाकोठा त्यसमाथि पुराना बेञ्चमा बसेर ससाना बालबालिका पढ्न बाध्य छन् ।

मावि, उच्च माविका लागि ठूलाठूला र सुविधा सम्पन्न भवन बने पनि प्रावि तह भने दशकौँ पुरानो भवनबाट चलेको छ । प्रावि तहमा अस्वभाविक हिसाबले विद्यार्थी घट्दा पनि विद्यार्थी टिकाउन कुनै ध्यान दिइएको छैन । विद्यालयका प्राचार्य गोविन्द भण्डारी बसाइसराइँ, सेवा क्षेत्रको सीमितता, गाउँघरमै विद्यालय खुल्नेक्रम बढ्नु, बच्चा जन्मने दरमा पनि कमी आएकाले गाउँका प्राविमा विद्यार्थी कम हुँदै गएको बताए।

जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले विद्यार्थी कम हुँदा पढाइको गुणस्तर झन बढ्नुपर्नेमा त्यसो नहुनु दुर्भाग्यपूर्ण रहेको बताए।  “पढाइको गुणस्तर र सिकाइ उपलब्धि बढाउनमा मुख्य भूमिका शिक्षककै हुन्छ”– जिशिअ तिवारीले भने। उनले न्यूनतम विद्यार्थी सङ्ख्या पनि पुर्‍याउन नसक्ने विद्यालय एकीकरणमा जाने बताए।

सुदृढ व्यवस्थापन, स्तरीय सिकाइ र पढाइ मैत्री वातावरण दिनसके सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढाउन सकिने उनको भनाइ छ ।

विद्यार्थी नै टिकाउन नसक्दा हालसम्म जिल्लाका नौ वटा प्रावि बन्द भइसकेका छन् । विद्यार्थी कम भएपछि थप प्रावि पनि एकीकरणको प्रक्रियामा रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

Unlock the Box Below

Post a Comment

 
Top