भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस
जाजरकोटस्थित भेरी नदिको किनारमा सुनको संभाव्यता अध्ययन
जाजरकोटस्थित भेरी नदिको किनारमा सुनको संभाव्यता अध्ययन गर्ने भन्दै ‘ड्रिल’ गरिरहेको चिनियाँ कम्पनीलाई स्थानीय प्रशासनले उपस्थित हुन आदेश दिएको छ ।चिनियाँ कम्पनीलाई आवश्यक कागजातसहित प्रशासनमा उपस्थित हुन प्रहरीमार्फत खबर पठाएको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सेढार्इंले बताए ।
धर्मश्री माइन नामक चिनियाँ कम्पनीले भेरीमालिका नगरपालिका–४ धल्ला र ५ मटेलामा सुन खानीको संभाव्यता अध्ययनका लागि उत्खनन् गरिरहेको छ । चिनियाँ नागरिक सङपिङको टोलीले एक महिनादेखि नगरपालिकाको उक्त दुई स्थानमा उत्खनन्को काम गरिरहेको हो । बगरको जमिनमुनि मेसिनद्वारा ड्रिल गरेर नमूना निकालि अध्ययन गरिरहेको सङपिङले बताए ।
१ सय ५० फिट गहिरो ड्रिल गरेर अनुसन्धान गर्दासम्म सुनको संभावना भने नभेटिएको उनले बताए ।
खानी तथा भूगर्भ विभागबाट सुन खानीको अध्ययन तथा अनुसन्धानको अनुमति लिएको बताउने उक्त कम्पनीले निरन्तर काम गरिरहेको छ । खानी तथा भूगर्भ विभागसँग भेरी नदीका विभिन्न ठाउँमा सुन पाईएको तथ्यांक रहेकोले कम्पनीले चासोका साथ अध्ययन गरेको हो ।
संभाब्यता अध्ययन अनुसन्धानमा सरकारी पक्षको उपस्थिति नहुँदा स्थानीय आशंकित छन् । स्थानीयले भने कम्पनीले स्थानीय प्रशासन तथा जिल्ला वन र वन उपभोक्ता समूहबाट अनुमति नलिएको बताएका छन् । उत्खनन् क्षेत्रमा कम्पनी टोली बाहेक अन्यलाई प्रवेशमा रोक लगाएको स्थानीय कर्णजंग शाहीले बताए ।
अझै तीन महिना अनुसन्धान जारी रहने सङपिङले बताए । उत्खनन्का लागि थप सामग्री ओसारपसार गर्न कम्पनीले आफ्नै खर्चमा २ किलोमिटर मोटरबाटो समेत निर्माण गरेको छ । जमिनको सतहमुनि भेटिएका विभिन्न चट्टान तथा अन्य खनिज पदार्थको नमूना थप अनुसन्धानका लागि कम्पनीको केन्द्रिय कार्यालयमा पठाउने गरेको पनि उनले बताए । यस अघि यो कम्पनीले दाङमा समेत सुनखानीको अध्ययन गरेको थियो ।
Post a Comment