भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस

चैत्र २६, २०७२- हात कमजोर छन्, लेख्न सक्दैनन् । मुखमा बोली छैन तर खुट्टाको सहायतामा सबै काम गर्ने क्षमता राख्छन् ।

रामपुर २ बार्दाकोटका १८ वर्षीय यामबहादुर खाम्चामगरको दैनिकी उनकै उमेरका अरू तन्नेरीभन्दा फरक छ । काम गर्न र समाउन सक्दैनन् । सुन्न र देख्नमा चतुर छन् । कोही केही बोल्यो भने उनले तत्कालै खुट्टाले लेखेर जवाफ दिन्छन् ।

उनले केही भन्नु पर्दा खुट्टाले कलम समाएर कापीमा लेख्ने बानी परेको छ । कति कक्षामा पढ्छौ ? तत्कालै लेखेर जवाफ दिए, ‘कक्षा ७ मा पढेथें अब ८ मा पढ्ने हो ।’ दुवै खुट्टाले कापी र कलम च्यापेर लेख्छन् ।

विद्यालयमा शिक्षकले दिएको गृहकार्य इमान्दारीपूर्वक गर्छन् । कापीमा राम्रोसँग लेख्छन् । उनको रुचि चित्र कोर्ने छ । १२ वर्षको हुँदा घर नजिकैको विद्यालयमा कक्षा १ मा भर्ना भएका हुन् । बाबु मानबहादुरका अनुसार उनी जन्मिँदै जन्डिसका रोगी थिए । उपचार गर्न आर्थिक अवस्थाले भ्याएन । त्यसपछि उठन सकेनन् । बिस्तारै अपांगताले समात्यो ।

 ‘राम्रो उपचार र खानपानकै अभावले यस्तो भएको होला,’ उनले भने । उनका तीन छोरा र एक छोरीमा यामबहादुर माहिला हुन् । उनको तीक्ष्ण बुद्धि र खुट्टाले लेखेको देख्दा आमा योगमायाले चित्त बुझाएकी छन् । ‘शारीरिक रूपमा अशक्त भए पनि दिमाग छ,’ उनले भनिन् ।

सात वर्षको हुँदा उपचारका लागि तानसेनको मिसन अस्पताल लगे पनि सुधार हुन सकेन । जिल्लाबाहिरका अस्पतालमा पुर्‍याउन आर्थिक अवस्थाले धान्दैन ।

आठ वर्षसम्म त उनी हलचल गर्न पनि सक्दैनथे । त्यसयता केही सुधार भएको हो । विद्यालय जान सुरु गरेपछि नियमित छन् । अक्षर चिनेपछि तीक्ष्ण बुद्धि देखियो । ‘विद्यालयकै मेहनती र लगनशील विद्यार्थी हुन्,’ बालहित माविका प्रधानाध्यापक नवलसिं विरकट्टाले भने ।

डेक्स र बेन्चबीच चटाइमा राखेर उनलाई पढाइने गरेको छ । अरूसँगै पढदा बुझ्न ढिला भए पनि केही बोल्दैनन् । उनीसँग अपांगता परिचयपत्र छैन । सरकारी सेवासुविधा पनि केही नपाएको उनका बाबुले बताए ।

बाबु मानबहादुर र जेठा दाइ पुनाराम भारतमा रोजगारी गर्छन् । स्थानीय इमानसिं रानाले भने, ‘कतैबाट थप सहयोग जुटेर सुविधासम्पन्न विद्यालयमा पढ्न पाए उनले धेरै प्रगति गर्न सक्छन् ।’

Unlock the Box Below

Post a Comment

 
Top