भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस

काठमाण्डाै / मलेसियाले गैरकानुनी आप्रवासीको खोजी गर्दै शनिबार गरेको धरपकडमा एकसय १८ जना आप्रवासीहरु पक्राउ परेका छन् । पक्राउ परेकाहरुमध्ये दुईजना महिला छन् । उनीहरु गैरकानुनी अवस्थामा रहेको र कतिपयले प्रवेशाज्ञा (भिसा) को दुरुपयोग गरेको जनाइएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

नेपालीसहित विदेशी कामदारका लागि भेटघाट र किनमेल गर्ने थलोको रुपमा परिचित रहँदै आएको राजधानी क्वालालम्पुरस्थित ‘कोताराय बजार’ क्षेत्रमा गरिएको उक्त धरपकडमा कति नेपाली पक्राउ परे भन्ने जानकारी पाउन सकीएको छैन । यद्यपी पक्राउ पर्नेमा बंगलादेशी र नेपाली बहुसंख्यक रहेको हुनसक्ने प्रत्यक्षदर्शी नेपालीको अनुमान छ ।

अघिल्ला साता विभिन्न स्थानमा भएको त्यस्तै धरपकडमा १९ नेपाली पक्राउ परेका थिए ।
गत फेब्रुवरी १५ देखि जुन ३० देखि गैरकानुनी कामदारलाई काम गर्नका लागि दर्ता हुने अवसर दिएको मलेसियाले उक्त कार्यक्रम सकिएलगत्तै गैरकानुनी कामदारविरुद्ध धरपकड अभियान संचालन गर्दै आएको छ ।

करिब २० लाख बैध विदेशी कामदार कार्यरत रहेको मलेसियामा झण्डै त्यति नै संख्यामा गैरकानुनी आप्रवासी कार्यरत रहेको अनुमान गरिंदै आएको छ । पटक–पटक अवसर दिंदासमेत उक्त अवसरको वेवास्ता गर्दै अझैपनि धेरै गैरकानुनी आप्रवासीहरु मुलुकमा रहेको हुनसक्ने भन्दै मलेसियाले त्यस्ता आप्रवासीविरुद्धको खोजी गर्दै आएको छ ।

नेपालीका व्यवसाय प्रभावित

प्रहरी र सम्बन्धित विभिन्न निकायका अधिकारीहरुको टोलीले शनिबार कोतारायका जलान सिलाङ, सेन्ट्रल मार्केट, कोताराय कम्प्लेक्स, मेडान पासार, माइडिन सुपरमार्केट लगायत स्थानमा दिउँसो २ बजेदेखि बेलुकी ८ बजेसम्म गरेको उक्त धरपकडका कारण यी क्षेत्रमा रहेका नेपालीसहितका व्यवसायी प्रभावित बने । कोताराय क्षेत्रमा नेपालीका लगानीमा झण्डै तीन दर्जनजति पसल, रेष्टुरेण्ट, रेमिट लगायत व्यवसाय छन् । धरपकडका कारण शनिबार दिनभर ती क्षेत्र सुनसान रह्यो ।

‘व्यवसाय राम्रो हुने भनेको सार्वजनिक विदाका दिन शनिबार र आइतबार नै हुन् । झन् यिनै दिन धरपकड भइदिएपछि व्यवसाय त चौपट भइहाल्यो नि,’ कोतारायमा लामो समयदेखि रेष्टुरेण्ट व्यवसाय गर्दै आएका एकजना नेपाली व्यवसायीले भने, ‘पक्राउ परिने डरले ग्राहकहरु आउँदैनन्, जसको कारण हाम्रा व्यवसायमा प्रत्यक्ष प्रभाव परेको छ ।’ सार्वजनिक विदाको दिन भएकाले छुट्टी मनाउन कोतारायमा आउने गैरकानुनी आप्रवासीहरुलाई लक्षित गर्दै उक्त धरपकड गरिएको थियो । जुमएनपीबाट

Unlock the Box Below

Post a Comment

 
Top