भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस



सिन्धुपाल्चोकका केही गाउँका भूकम्पपीडितले आफ्नै गाउँमा सरकारी सेवा पाएका छन्। जिल्लाको पारी गाउँको नामले चिनिइने पाङताङको कात्तिकेमा १५ सरकारी कार्यालयले गाउँमै पुगेर भूकम्पपीडितलाई सेवा दिएका हुन्।

एकिकृत घुम्ती शिविर लिएर गाउँ पुगेको सरकारी टोलीले सर्वसाधारणलाई आवश्य परेअनुसार सुविधा दिए। जिल्लाका विकट गाउँहरु गोल्चे, गुम्बा, पाङताङ, बराम्ची र सेलाङलाई केन्द्रीत गरी टोली कात्तिके पुगेको हो।

घुम्ती शिविरमा जिल्ला प्रशासन कार्यालयबाट ७४ वर्षिया बृद्धासहित २ सय ८ जनालाई नागरिकता प्रदान गरिएको थियो। त्यस्तै महिला तथा बादबालिका कार्यालयबाट ७ जनालाई ज्येष्ठ नागरिक परिचय पत्र, १८ जनालाई अपांगता परिचयपत्र वितरण गरिएको थियो। घुम्ती शिविरमा २ सय २३ जनाले फोटोसहितको मतदाता परिचयपत्र बनाए। त्यस्तै चार गाविसका १० विद्यालयलाई शिविरबाटै जिल्ला शिक्षा कार्यालयले पाठ्य सामग्री दिएको थियो।

शिविरबाट नापी कार्यालयमार्फत ३ थान नक्सा ट्रेस, ७ थान फिल्ड बुक उतार र मालपोत कार्यालयले हालको बकस, राजिनामा सिफारिस, संसोधन सगोलनामा तथा फोटो टाँस गरी २९ जनालाई सेवा प्रदान गरिएको थियो।

सरकारी टोली आफ्नो गाउँ आएको मौकामा पारी गाउँवासी १ सय ५३ परिवारले २ हजार ७ सय ११ पशुपंछीका लागि उपचार सेवा पाएका थिए। कृषि विकास कार्यालयले ३ यय ५१ जनालाई बिउबिजन बाँडेको थियो।

शिविरमा टेलिकमले दिएको सेवामा ५९ जना लाभान्वित भए। उनीहरुलाई टेलिकमले सिम कार्ड तथा रिचार्ज कार्ड विक्री गरेको हो।

घुम्ती शिविरमा घरेलु तथा साना उद्योग विकास समितिबाट उद्योग प्रशासन सम्बन्धी ११ वटा परामर्श सेवासहित ६ वटा वाणिज्य फर्म दर्ता भएको थियो। सोही ठाउँमा १ सय ६२ जनाले आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत उपचार तथा औषधी पाए।

नेपाली सेना र जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा भएको स्वास्थ्य परीक्षणमा ३ सय ८४ जनाले सेवा प्राप्त गरे। जसमध्ये २८ जना गर्भवती महिलाको भिडियो एक्सरे गरिएको थियो। शिविरमै २ सय ७ जनाले हुलाक टिकट किने।

२ सय २२ जनालाई शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी परामर्श दिएको थियो। जिल्ला प्रहरी कार्यालयले २ सय ४२ जनालाई प्रहरी सेवा सम्बन्धी परामर्श दिई प्रहरी नागरिक सञ्जालमा आबद्ध गरेको थियो।

सरकारी निकायबाट प्रदान गरिने सुविधालाई विकट गाउँका सर्वसाधारणले कम खर्च र बिना झण्झटमा सेवा पाउनु भन्ने ध्येयले सरकारी जम्बो टोली त्यहाँ पुगेको हो।

सदरमुकाम आउन दुई/तीन दिनको पैदल आउनु पर्ने भएकाले त्यहाँका नागरिकलाई सुलभ तथा प्रभावकारी सेवा दिन शिविर लिएर गाउँ गएको प्रमुख जिल्ला अधिकारी गोकर्णमणी दुवाडीले बताए। 'गाउँवासी आफ्नै दैलोमा यस्तो कार्यक्रम होस् भन्ने चाह राख्दा रहेछन्,' उनले आइतबार पत्रकार सम्मलेनमा भने, 'दैलोमै सदरमुकाममा पाउने सेवा पाएपछि स्थानीयवासी खुशी बने।'

उनले सेवाग्राहीको सहभागिता उल्लेख्य भएकाले एकिकृत घुम्ती शिविर प्रभावकारी भएको सुनाए। प्रमुख जिल्ला अधिकारी दुवाडीकाअनुसार यस्तो कार्यक्रम सबै गाउँमा हरेक ६ महिनामा हुनपर्ने स्थानीयवासीको माग छ। यसअघि जिल्लाको दक्षिणी भेग अत्तरपुरमा शिविर भएको थियो।

Unlock the Box Below

Post a Comment

 
Top