भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस
प्रहरीको अनुगमनपछि ठमेलका १५ मसाज सेन्टर बन्द
सिन्धुलीकी एक १७ वर्षीया युवती उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आइन्। जागिर खाँदै अध्ययन गर्ने उनको लक्ष्य थियो। कतै काम नपाएपछि कलेजका साथीसँगै ठमेलका मसाज सेन्टर जान थालिन् । राम्रो ठानेर छिरेको त्यही रोजगारले अहिले ती युवतीलाई प्रहरी फन्दामा पुर्याएको छ।सोह्रखुट्टे प्रहरीले केही दिनअघि ठमेलका मसाज पार्लरमा छापा मार्दा उनी पक्राउ परेकी हुन्। मसाजका नाममा अनैतिक क्रियाकलाप हुन थालेको भन्दै ठमेलका मसाज र स्पा सेन्टरमा अप्रेसन सुरु गरेको प्रहरीले जनाएको छ।
‘मसाजका नाममा विकृति भयो,’ काठमाडौं प्रहरीका एसएसपी विक्रमसिंह थापाले सेतोपाटीसँग भने, ‘अनैतिक क्रियाकलाप हुन थालेपछि हामीले अप्रेसन सुरु गरेका हौं।’ प्रहरीले नागरिक मञ्च, ठमेल पर्यटन विकास परिषद लगायत संघ–संस्थाको सहयोगमा ठमेलका मसाज र स्पा सेन्टरमा अनुगमन गरेको थियो। अनुगमनपछि १५ मसाज सेन्टर बन्द गराइएको छ। सञ्चालक र त्यहाँ कार्यरत ९ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। एभरेस्ट होटल तथा मसाज सेन्टरका सञ्चालक हरिकृष्ण शाहीमाथि भने मानव बेचबिखनकै मुद्दा चलाइएको एसएसपी थापाले बताए।
ठमेलमा ६४ मसाज सेन्टर छन्। त्यहाँ कम्तिमा ४ सय कर्मचारी रहेको प्रहरीको अनुमान छ। कर्मचारीलाई कम्तिमा ४ हजारदेखि १५ हजारसम्म तलब दिइने गरेको अनुगमनका क्रममा भेटिएको थियो। कतिले त ग्राहकको संख्याअनुसार प्रतिशतका आधारमा पनि दिइएको पाइयो। काठमाडौं प्रहरीका प्रवक्ता एसपी विश्वराज पोखरेल आचारसंहिताभन्दा बाहिर गएर सञ्चालन भएका मसाज र स्पा सेन्टरका कारण नियमसंगत व्यवसाय गर्नेहरू पनि बद्नाम भइरहेको बताउँछन्।
मसाज र स्पाको आचारसंहितामा के छ?
१) व्यवसायीले आफ्नो व्यवसाय सञ्चालन गर्न नेपाल मसाज व्यवसायी संघ, ठमेल पर्यटन विकास परिषद तथा वडा कार्यालयहरूसँग समन्वय गरी नीति तथा निर्देशन परिपत्र लागू गर्न गराउन पहल गर्नेछ ।
२) कानुनबमोजिम इजाजत पत्र प्राप्त गरी व्यवसाय गर्नुपर्नेछ ।
३) मसाज व्यवसायीले व्यवसायको दर्ता प्रमाणपत्र व्यवसाय सञ्चालनमा रहेको कक्षमा सबैले देख्ने गरी राख्नुपर्नेछ।
४) व्यवसाय सञ्चालन गर्दा छरछिमेक र सर्वसाधारणमा कुनै प्रकारको नकारात्मक असर पर्ने क्रियाकलाप गर्न गराउन पाइने छैन।
५) कामदारले आफूले प्राप्त गरेको तालिम र अनुभवअनुसार प्रभावकारी सेवा प्रदान गर्नुपर्नेछ।
६) व्यवसाय कक्षभित्र दिन सकिने सेवा बाहेकका अन्य सेवाको मूल्यसूची विवरण उल्लेख गर्न पाइने छैन।
७) सेवाग्राहीलाई मदिरा सेवन गरी प्रवेश तथा जुवातास निषेधा गर्ने र त्यसको जानकारीका लागि सूचना टाँस्ने व्यवस्था गर्नुपर्नेछ।
८) मसाज गर्दा सम्पूर्ण नीति–नियम पालना गर्नुपर्ने र सम्बन्धित काममा दक्ष हुनुपर्ने।
९) मसाज सञ्चालन कक्षभित्र कोठाको ढोका खुला हुनुपर्ने, पर्दा र बेडकभर सेतो हुनुपर्ने, कर्मचारीले लगाउने पोसाकको हकमा सर्ट–पाइन्ट पुरुषले र महिलाले सर्ट–पाइन्ट वा पाइजामाका साथै एप्रोन अनिवार्य लगाउनुपर्नेछ र मसाज कक्ष पारदर्शी हुनुपर्नेछ।
१०) प्रचलित कानुनको दायराभित्र रही कामदार, कर्मचारीको योग्यता र क्षमताअनुसारको व्यवसाय र पेसाकर्मीबीच सम्झौताबमोजिम मासिक पारिश्रमिक व्यवस्था गर्नुपर्नेछ।
११) निरीक्षण क्रममा आचारसंहिता विपरीत गरेको पाइए तत्काल कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्न सकिनेछ।
१२) स्पा तथा मसाज पार्लरमा सञ्चालन समयभित्र जुनसुकै समयमा निरीक्षण र अनुगमन गर्न सकिनेछ।
१३) उमेरको हकमा पुरुष तथा महिला दुवैको उमेर १८ वर्ष पुगेको हुनुपर्नेछ।
१४) आचारसंहितामा लागू गरिएको सम्पूर्ण नियम कानुन पालना गर्नुपर्नेछ। नगरे व्यवसायी आफैं कानुनी कारबाहीको भागीदार हुनुपर्नेछ।
१५) स्पा तथा मसाज सञ्चालन गर्ने समय बिहान १० देखि बेलुकी ८ बजेसम्म तोकिएको छ।
source|: सेतो पाटी बाट
Post a Comment