भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस


पछिल्लो एक सातायता इन्धन आपूर्ति बढेको छ।  अहिले दैनिक मागको ५० प्रतिशत आपूर्ति भइरहेको नेपाल आयल निगमले जानकारी दिएको छ। यसअघिसम्म दैनिक मागको करिब १५ प्रतिशत मात्रै आपूर्ति हुँदै आएको थियो। नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काका अनुसार गत सातादेखि पेट्रोल र एलपी ग्यासको आपूर्ति बढेको छ। रक्सौल नाकाबाहेक बिर्तामोड (भारतको सिलिगुडी डिपो),धनगढी (भारतको बन्थरा डिपो), भैरहवा (भारतको बेतालपुर डिपो), नेपालगञ्ज (भारतको गोन्डा डिपो) र विराटनगर(भारतको बरौनी डिपोबाट जोगवनीहुँदै) इन्धनको आपूर्ति भइरहेको छ।
'एक सातायता आपूर्ति राम्रो भएको छ,' कार्यकारी निर्देशक खड्काले भने, ‘दैनिक आपूर्तिको अवस्था झण्डै ५० प्रतिशतमा आएको छ।'उनका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) ले रक्सौल बाहेकका अन्य पाँचवटा नाकाबाट उल्लेख्य परिमाणमा इन्धन लोड दिँदै आएको छ।
यसले पछिल्लो समयमा इन्धनको वितरण परिमाण बढाइएको छ। 'रक्सौल बाहेकका डिपोमा गएका करिब सबै ट्यांकर र बुलेटमा आईओसीले इन्धन दिइरहेको छ',उनले भने, 'अहिले आपूर्तिको अवस्था करिब सामान्यजस्तै बन्न थालेको छ।'
निगमका अनुसार उपत्यकामा सामान्य दिनमा पेट्रोलको माग एक हजार एक सय किलोलिटर (११ लाख लिटर), डिजेलको माग दुई हजार ६ सय किलोलिटर (२६ लाख लिटर), एलपी ग्यासको माग एक हजार मेट्रिक टन र मट्टीतेलको माग तीन सय किलोलिटर (तीन लाख लिटर) छ।
गत सातादेखि पेट्रोल दैनिक ६ सय किलोलिटर, डिजेल एक हजार ६ सय किलोलिटर र एलपी ग्यास दैनिक आपूर्ति पाँच सय मेट्रिक टन भइरहेको छ। यसैगरी मट्टीतेलको आपूर्ति ४० किलोलिटरमा पुगेको छ।
निगमका अनुसार आईओसीले यही परिमाणमा दैनिक लोड दिने हो भने केही समयमै राजधानीसहित मुलुकभरको इन्धन अभाव समस्या क्रमिक सुधार हुँदै जान्छ।
लटअनुसार तीन दिन निजी सवारीलाई इन्धन
इन्धन आपूर्ति उल्लेख्य परिमाणमा बढ्दै गएपछि निगमले आगामी बुधबार, शुक्रबार र सोमबार निजी कार, जीप र भ्यानलाई लट नम्बरको आधारमा इन्धन बिक्री गर्ने तयारी गरेको छ।
बुधबार एकदेखि ६ सम्म, शुक्रबार सातदेखि १० लट र सोमबार ११ लटदेखि माथिका सबै निजी सवारीसाधनलाई पेट्रोल उपलब्ध गराइनेछ । यस्ता सवारीसाधनलाई नवीकरण भएको ब्लूबुकको आधारमा १५ लिटर दिइनेछ।
निगमका अनुसार ती तीन दिन डिजेलबाट गुड्ने निजी कार, जीप र भ्यानलाई पनि डिजेल उपलब्ध गराइनेछ। तीन दिनमा करिब १५ लाख लिटर इन्धन बिक्री गर्ने योजना छ।
निगमसँग अहिले मुलुकभरका डिपोमा गरेर एक करोड २० लाख लिटरभन्दा बढी डिजेल र पेट्रोल २८ लाख लिटर मौज्दात छ।

Unlock the Box Below

Post a Comment

 
Top