भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस


अश्लीलताको बदला - ७२ लाख अमेरिकी डलर

पुस १९, २०७२-
अमेरिकामा नेपाली पोर्न स्टारका रूपमा प्रचार गरिएकी पोखराकी युवती बिन्दु परियारले अनायासै ७२ लाख अमेरिकी डलर (करिब ७२ करोड नेपाली रुपैयाँ) पाउने खबरले बजार तातेको छ । बिन्दुलाई नेपालबाट अमेरिका पुर्‍याई जबरजस्र्ती पोर्नस्टार बनाएको ठहर गर्दै अमेरिकी अदालतले उनका पूर्वश्रीमान् टम रान्डेल सेवेलबाट उक्त रकम क्षतिपूर्ति तिराउने आदेश दिएको डेली मेलको अमेरिकी संस्करणको समाचारमा उल्लेख छ । ‘रिभेञ्ज पोर्न’ (अश्लीलताको बदला) शीर्षकमा डेली मेलले प्रकाशित गरेको समाचारमा नेपालकी बिन्दु परियारलाई टम रान्डेल सेवेलले जबरजस्ती यौन चलचित्रमा काम गराएको तथा यौनकर्ममा लगाएको भनेर डालास काउन्टीमा मुद्दाको छिनोफानो भएको कुरा उल्लेख छ ।

२०७० को भदौमा साप्ताहिकमा बिन्दु परियारसम्बन्धी लेख प्रकाशन भएपछि उनका बारेमा नेपालमा समेत चर्चा भएको थियो । पोखरा हेम्जाकी एउटी युवती अमेरिकी सहर टेक्सासमा सञ्चालित वयस्कहरूको एक क्लबमा एकपछि अर्को पहिरन उतार्दै पूर्ण नग्न भएर नाचिने ‘स्ट्रिप डान्स’ गर्ने चर्चित ‘स्ट्रिपर’का रूपमा देखा परेको र उनले त्यसपछि अनेकन् यौन चलचित्रमा काम गरेको तथा उनका नग्न तस्बिरहरू इन्टरनेट एवं सामाजिक सञ्जालहरूमा पर्याप्त पाइने कुरा त्यतिबेलाको यथार्तता थियो ।

पोखराबाट टेक्सास
पर्वतारोहण पर्यटकका रूपमा नेपाल आएका टम रान्डेल सेवेलले बिन्दुलाई मात्र होइन, उनकी दिदी पर्ने सीता परियारलाई समेत झुक्याएर अमेरिका पुर्‍याई ‘स्ट्रिप डान्स’ गर्न लगाएको थियो । उसले सीतालाई पनि श्रीमती नै बनाएर अमेरिका पुर्‍याएको थियो । टमले सबैभन्दा पहिले बिन्दुकै सानीआमा पर्ने महिलासँग विवाह गरेर २००८ मा पारपारचुके गर्‍यो । बिन्दुकी सानी आमासँग टमले विवाह गर्दा बिन्दु १ वर्षकी मात्र थिइन् । टम कतिसम्मको यौन पिपासु रहेछ भने उसले एकै परिवारका तीन जना युवतीलाई श्रीमती बनाएको बाट पुष्टि हुन्छ ।

सीतासँग पनि छुट्टिएपछि टमले आफूभन्दा धेरै सानी बिन्दुलाई ताक्न थालिसकेको थियो । किशोरावस्थामा पुगेकी, उच्च अध्ययनको चाहना राख्ने विपन्न परिवारकी छोरी बिन्दुलाई टमले अमेरिकाबाट पत्राचार गर्न थाल्यो । पत्रमा टमले बिन्दुको चाहना पूरा गर्ने प्रलोभन देखाउँथ्यो । पोखरामा हुने सांस्कृतिक कार्यक्रमहरूमा नाच्ने बिन्दु कुशल नृत्याङ्गना पनि थिइन्, त्यसैले उनलाई अमेरिका लगेर ‘स्ट्रिप डान्स’ गराउन टमलाई गाह्रो पर्दैनथ्यो । उच्च अध्ययन गर्ने लक्ष्य लिएकी बिन्दुलाई चाहेको विषय अमेरिकामा पढाइदिने आशा देखाएपछि उनी सहजै उसको कुरा मान्न थालिन् । जसै–जसै बिन्दु यौवनतर्फ प्रवेश गर्दै थिइन्, टम उनको जीवन तहसनहस पार्न जाल बुन्दै थियो ।
विपन्नताबीच ठूलो सपना पालेर बसेकी बिन्दूलाई अमेरिका लगेर पढाइदिने प्रलोभन दिनु भोकालाई खीरजस्तै थियो । बिन्दुले टमको प्रस्ताव अस्वीकार गर्ने कुरै थिएन । उनी सहजै राजी भइन् । कोर्ट म्यारिज गरेर अमेरिकाको टेक्सास पुर्‍याइएपछि टमले बिन्दुलाई अंग्रेजी सिक्न पठायो । उच्च अध्ययनका लागि अंग्रेजी सिक्नु अनिवार्य पनि थियो, तर टमको उद्देश्य त अर्कै थियो ।

टमको पिपासु रूप
अमेरिका पुगेको केही समयसम्म त उमेरमा धेरै नै बढी भए पनि टमको व्यवहार ‘असल लोग्ने’ सरह थियो, तर बिस्तारै उसले आफ्नो असली स्वरूप देखाउन थाल्यो । नेपाली पहिरन लगाउन मन पराउने बिन्दुलाई टमले सबैभन्दा पहिले जिन्स पाइन्ट तथा लङ स्कर्ट लगाउन पनि रोक लगायो । डालासस्थित उसको घरको दराजमा महिलाका भित्री पहिरनको भण्डार नै थियो । उसले बिन्दुलाई ती पहिरन लगाउन आदेश दियो । नेपालीसमेत बोल्ने टमले उनलाई छाडा गाली गर्न थाल्यो । केही समयपछि उसले बिन्दुलाई एक नाइट क्लबमा काम लगाइदियो जहाँ उनले नाममात्रको स्कर्ट लगाउन पाउँथिन् । टमले झुक्याएर बिन्दुको ब्रेस्ट इम्प्लान्ट पनि गरिदियो ।

मुद्दा पेशीका क्रममा एउटा अनलाइन भिडियो अदालतमा प्रस्तुत गरिएको थियो, जसमा छोटा वस्त्र लगाएकी बिन्दुलाई पार्किङभित्र कसैले नेपाली भाषामा गाली गर्दै आदेश दिइरहेको हुन्छ । उनी त्यो आदेश खुरुखुरु पालन गरिरहेकी हुन्छिन् । त्यो आदेश दिने व्यक्ति टम नै भएको बिन्दुले अदालतलाई बताएकी छिन् ।

नाइट क्लबहरूमा ‘स्ट्रिपर’ का रूपमा काम गर्न थालेपछि टमले नै बिस्तारै बिन्दुलाई यौनकर्ममा लगायो । श्रीमती भनेर अमेरिका पुर्‍याइएकी बिन्दुसँग अरूले यौन क्रियाकलाप गर्दा टम भिडियो खिच्न व्यस्त हुन्थ्यो ।

बिन्दुको पासपोर्टलगायत अन्य कागजात टमले पहिले नै कब्जामा लिइसकेको थियो । उसको यौन भिडियो र नग्न तस्बिरहरू खिचेपछि स्थानीय प्रहरीबाट यौनकर्मीका रूपमा पक्राउ गराइदिने र नेपालमा परिवारका सदस्यहरूकहाँ ती भिडियो तथा तस्बिर पठाइदिने धम्की दिँदै टमले बिन्दुलाई ब्ल्याकमेल गरेको बिन्दुले अदालतलाई बताएकी छिन् । यहाँसम्म कि भिडियो खिच्दा बिन्दुलाई टमले रक्सी तथा लागूऔषध सेवन गराउँथ्यो । टम यति क्रूर थियो कि उसले बिन्दुले डालासको बेबी डल्स क्लबमा ग्राहकको सन्तुष्टिअनुरूप काम गर्न नसकेको आरोपमा सबैका सामु पिट्दै चक्कुले उनको पहिरन च्यातिदिएको थियो । उक्त घटनापछि डालास प्रहरीले टममाथि मानव बेचबिखनको मुद्दा पनि चलाएको थियो ।

बिन्दुको मुक्ति
टमले बिन्दुको कलेजको बेवसाइटमा उनलाई ‘यौनकर्मी’ भनेर लेखिदिएपछि अनेकौं व्यक्तिले बिन्दुसमक्ष यौनप्रस्ताव राखे । साहस जुटाएर बिन्दुले टमसँग विवाद गरिन् र धेरै दु:ख–कष्ट खेपेपछि अन्तत: २७ वर्षीया बिन्दु र टम सन् २०१२ मा अलग भए । त्यसपछि पनि टमले बिन्दुलाई मानसिक तनाव दिन छाडेन । उसले बिन्दुको नाममा ‘हटी बिन्दु’ (Hotty Bindu) लेखेर केही बेवसाइट तथा सामाजिक सञ्जालमा अर्धनग्न तथा नग्न तस्बिरहरू अपलोट गर्न थाल्यो । बिस्तारै उनका ‘सेक्स भिडियो’हरू युट्युबसहित इन्टरनेट सञ्जालहरूमा राखिन थालियो । त्यो सबै टमले नै गरेको थियो । हाल बिन्दुका भिडियो तथा तस्बिर झन्डै २ हजार साइटमा फेला पर्छन् । बिन्दुले पटक–पटक टमसमक्ष ती सामग्री हटाउन अनुरोध गरेको बताएकी छिन् । एक अनलाइन पत्रिकामा बिन्दुले बताएकी छिन्– ‘मैले धेरै पटक मेरा अश्लील सामग्रीहरू हटाउन अनुरोध गरेँ, सम्बन्धित बेवसाइटहरूलाई समेत गुहारेँ, तर उसले मलाई फेसबुकमा म्यासेज लेखेर ‘तिमीले जति पटक रिपोर्ट गर्छौं म त्यति पटक सामग्री थप्दै जान्छु’ भन्यो । केही सीप नलागेपछि ५८ वर्षीय टमविरुद्ध २०१४ मा उनले अदालतमा आर्थिक क्षतिपूर्तिका साथै आफ्ना सबै तस्बिर इन्टरनेटबाट हटाउने मागसहित मुद्दा दर्ता गरिन् । न्यायाधीश मार्टिन जे हफम्यानको इजलासले अनलाइनमा राखिएका बिन्दुका सबै खाले अश्लील सामग्री हटाउने आदेश दिएको छ । यसका साथै उनलाई क्षतिपूर्तिबापत टमले ७२ लाख अमेरिकी डलर (७२ करोड नेपाली रुपैयाँ) दिनुपर्ने निर्णय पनि गरिएको छ ।

बिन्दुले पाउलिन् त ७२ करोड ?
फैसलाका बखत टम अदालतमा उपस्थित थिएन् । उसलाई अदालतको निर्णयको पत्र थमाउने प्रयास पनि बिफल भैरहेको छ । टमको पक्षबाट मुद्दा लडिरहेका अधिवक्ता ब्रायन श पनि बेपत्ता भएको बताइन्छ । टमले अझै पनि बिन्दुले आफ्नो चरित्रहीन विगत सच्याउन मुद्दाको नाटक रचेको आरोप लगाइरहेको छ । यस्तो अवस्थामा बिन्दुले टमबाट सहजै क्षतिपूर्ति प्राप्त गर्ने कुरामा शंका छ, तर बिन्दुको साहसिक कदमले टमजस्तो यौनपिपाशुको चरित्र उदांगो भएको छ । गरिबीका कारण दु:ख पाएका युवतीहरूलाई अमेरिकाजस्तो सम्पन्न मुलुकमा समेत देहव्यापारमा संलग्न गराइँदो रहेछ भन्ने कुरा पनि यो घटनाले उदाङ्गो पारेको छ । भारत तथा खाडी मुलुकहरूमा मात्र होइन, सम्पन्न मुलुकमा समेत नेपाली महिला सुरक्षित छैनन्, तर उनीहरूले यथोचित न्याय भने पाउन सक्छन् भन्ने कुराको उदाहरण पनि हो, यो घटना । बिन्दु एउटा उदाहरण मात्र हुन् । बिन्दुजस्ता अरू पनि यसरी खाडी मुलुकदेखि अफ्रिका, युरोप वा दक्षिण अमेरिकासम्म पिल्सिएर बसेका होलान्, उनीहरूमा पनि मुक्तिको चाहना पक्कै होला । भारतको त कुरै नगरौं ।सोर्स:साप्ताहिक

Unlock the Box Below

Post a Comment

 
Top