भिडियो हेर्न तल को वक्स मा क्लिक गर्नुहोस



काठमाडौं, फागुन ४ । फुटबलबारे एउटा चर्चित भनाइ छ–‘महिला धेरै कारणले रुन्छन्, तर पुरुष मात्र फुटबलका कारणले रुन्छन् ।’

यो भनाइ सोमबार नेपालले भारतलाई हराउँदै २३ वर्षपछि दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जितेपछि थप पुष्टि भयो । त्यहाँ हार्ने र जित्ने दुबै खेलाडीका आँखामा टिलपिल आँशु छचल्किएको देखिन्थ्यो ।

जितेर हर्षका आँशु झार्नेमध्ये एक थिए, सागमा सदाबहार बलियो टोली भारतलाई उसकै घरमा हराउँदा निर्णायक गोल गरेका नवयुग श्रेष्ठ ।

साँच्चै भन्दा नवयुगका ती हर्षका आँशुले अहिले सिंगो देशलाई हर्षित बनाएको छ ।

प्रतियोगिताको सेमिफाइनलमा माल्दिभ्सविरुद्ध अन्तिम समयमा २ गोल गर्दै नवयुगले टोलीलाई फाइनलमा पुर्‍याएका थिए भने भुटानसँगको खेलमा ह्याट्रिक गरेका थिए । योसँगै कुल ७ गोल गरेका नवयुग प्रतियोगिताकै सर्वाधिक गोलकर्ता भए ।

त्यस्तै, अघिल्लो महिनामात्र बंगबन्धु गोल्डकप नेपाललाई जिताउँदा पनि नवयुगले माल्दिभ्ससँगकै सेमिफाइनलमा ह्याट्रिक गरेका थिए ।

फाइनलमा बहराइनविरुद्ध पनि गोल गरेका उनी प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी र उच्च गोलकर्ता बनेका थिए ।

नेपाललाई लगातार दोस्रो उपाधि दिलाउँदा खुसीको सीमा नरहेको बताएका नवयुगले भने–‘यसले बंगबन्धु उपाधि अप्रत्याशित थिएन भन्ने प्रमाणित भयो ।’

भारतसँगको फाइनलमा मध्यान्तरपछि ७२औं मिनेटमा गोल गरेर देशको जित सुनिश्चित गराएका उनले भने–‘जसरी नि जित्नैपर्छ भनेर मध्यान्तरपछि अझ बढी मेहनत गरेर खेलें ।’

वि.सं २०६८ मा राष्ट्रिय टोलीमा परेका भएपनि केही महिनाअघि भारतमा सम्पन्न ‘साफ च्याम्पियनसिप’मा मात्र नवयुगले ‘डेब्यु’ गर्ने मौका पाए तर अतिरिक्त खेलाडीको रुपमा ।

लगत्तै भएको बंगबन्धु गोल्डकपमा पहिलो एघारमा स्थान बनाएपछि उनको कमाल सुरु भएको हो । त्यसयता ‘नवयुग’को आगमनले साँच्चै नेपाली फुटबलमा ‘नयाँ युग’ प्रारम्भ भएको टिप्पणी फुटबल पन्डितहरुले गरिरहेका छन् ।

‘नाकाबन्दीको पीडा फुटबलले भुलायो’
सोमबार साँझ भारतको गुवाहाटीमा नेपालले भारतमाथि २–१ को जित हासिल गर्दाको क्षणलाई यतिखेर नेपाली फुटबल समर्थकले नाकाबन्दीसँग जोडेर हेरेका छन् । नाकाबन्दीको पीडा फुटबलले मेटाएको उनीहरुको प्रतिक्रिया छ ।

यो जितले साग फुटबलमा २३ वर्षको खडेरीमा वर्षामात्र गराएको छैन सोमबार नै महिला फुटबलमा नेपालले भोगेको पीडामा मल्हमसमेत लगाएको छ ।

बानेश्वरमा भेटिएका सिन्धुपाल्चोकका राकेश सापकोटाले भने–‘नाकाबन्दीपछि इन्धनको चरम अभाव हुँदा मैले आठ हजार रुपैयाँ तिरेर ग्यास किनें । आज फुटबलमा जित्दा मलाई त्यो ग्यास एक हजार पाँचसयमै किनेको जस्तो अनुभव भइरहेको छ । धन्य नेपाली युवा !’

नेपालले प्राप्त गरेको सफलतापछि सामाजिक सन्जालहरूमासमेत यतिखेर प्रधानमन्त्रीदेखि स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीले खुसी व्यक्त गरिरहेका छन् ।

जे–जस्ता प्रतिक्रिया आइरहेका छन्, यसले नेपाली फुटबलप्रेमी उपाधिका अत्यन्तै भोका रहेछन् भनेर पुष्टि गर्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारै एक विज्ञप्ति जारी गरी यो विजयले नेपालीको शिर उँचो बनाएको उल्लेख गरेका छन् ।

उनले सन्देशमा भनेका छन्–‘नेपाली खेलाडीको यो विजय खेल इतिहासमा अनन्तकालसम्म स्मरणीय रहने छ ।’

नेपालमा संघीय लोकतान्त्रिक संविधान जारी भएसँगै थोपरिएको नाकाबन्दीले जनजीवन थिलोथिलो बनिरहेका बेला भएको यो जितले धेरै सान्त्वना दिलाएका सन्देशहरु यतिखेर सामाजिक सन्जालमा प्रशस्तै देख्न र पढ्न सकिन्छ ।

नेपालले उपाधि जितेसँगै सोमबार राति नै राष्ट्रिय झन्डा हातमा लिएका सयौं युवा सडकमा निस्केर ‘स्वाभिमानी नेपालीको जित’ भन्दै नारासमेत लगाएका थिए ।

केहीले सामाजिक सन्जालमा खेलेका छन्–‘म्याच फिक्सिङका खेलाडीहरूलाई कारबाही गर्दा २३ वर्षपछि एक महिनामै दुईओटा सफलता हात पर्‍यो । राज्य फिक्सिङ गर्नेलाई कारबाही गर्नसके तीन करोड नेपालीको दैनिकी फेरिन्थ्यो कि ?’

खेल मिलेमतोमा केही खेलाडी र प्रशिक्षकसमेत गिरफ्तारीमा परी बर्खास्त भएपछि नवयुवाको बाहुल्य रहेको नेपाली टोलीले एक महिनाकोबीचमा दुईओटा उपाधिमात्र दिलाएनन्, नेपाली फुटबल सुस्ताएको मात्र रहेछ, सकिएको रहेनछ भन्ने तथ्यलाई पनि पुष्टि गरिदिएको छ ।

केहीले भने म्याच फिक्सिङको जालो पत्ता लगाउने नेपाल प्रहरीका एसएसपी सर्वेन्द्र खनाललाईसमेत बधाइ दिएका छन् ।

नेपालले उपाधि जितेलगत्तै आयोजित पत्रकारसम्मेलनमा भारतीय टोलीका प्रशिक्षक ली जोनसनलेसमेत नेपाली फुटबलरको प्रशंसा गर्दै नेपालका प्रकाश बुढाथोकीले ६६औं मिनेटमा प्रहार गरेको फ्रि किक विश्वस्तरीय रहेको बताए ।

उनले भने–‘त्यो फ्रि किक विश्वस्तरीय थियो । विश्वका कुनै पनि गोलकिपरले त्यस्तो फ्रि किक रोक्न सक्दैनन् ।’

यसअघि, सन् १९८७ मा भारतले नेपाललाई हराउँदै साफमा स्वर्ण पदक जितेको थियो ।

फुटबलमा स्वर्ण जितेसँगै नेपालले जारी सागमा अहिलेसम्म स्वर्ण पदकको संख्या ३ पुर्‍याएको छ ।

Unlock the Box Below

Post a Comment

 
Top